२५ फागुन, काठमाडौं । प्रजातन्त्र दिवसको अवसरमा पोखराबाट ‘अर्थपूर्ण’ भिडियो सन्देश जारी गरेर आइतबार काठमाडौं फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजावादीहरुले जुलुससहित निर्मल निवास पुर्‍याएका छन् ।

पोखरास्थित पुरानो विमानस्थलबाट समिट एयरको १८ सिटे चार्टर्ड विमानमार्फत अपराह्न ४ बजे काठमाडौं ओर्लिएका पूर्वराजा शाहलाई उनका समर्थकहरुले तामझामसहित स्वागत गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरुका अनुसार, आइतबारको शक्ति प्रदर्शन पूर्वराजा ज्ञानेन्द्र शाह मात्र नभई, उनले १८ दिनअघि दिएको अभिव्यक्तिको भव्य स्वागत हो । शाहले ७ फागुनमा १० मिनेट लामो भिडियो वक्तव्य जारी गर्दै ‘देशको उन्नतिका लागि अब के–के त्याग गर्नुपर्ने हो, त्यसका लागि तयार रहेको’ बताएका थिए ।

‘अब समय आयो – राष्ट्र जोगाउने हो, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन देशवासीलाई आह्वान गर्दछौं’, उनले भनेका थिए । शाहको यो अभिव्यक्तिपछि राप्रपा, राप्रपा नेपालसहित राजावादी समूहहरु हौसिएका छन् ।

‘राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सन्देशपछि राजसंस्था पक्षधर राजनीतिक दल, संगठन, समूह र व्यक्तिहरु एकदमै उत्साहित भएका छौं, त्यसैले उहाँको अभिव्यक्तिको स्वागत गरेका हौं’, राप्रपा प्रवक्ता मोहन श्रेष्ठ भन्छन्, ‘यसरी खुलेर आउनु भएपछि त्यसको समर्थनमा आज स्वेच्छिक रुपमा हजारौं मानिसहरु भेला हुनुभयो ।’

शाह आइतबार काठमाडौं आउने कार्यक्रम तय हुनुअघि राप्रपाले आमसभा राखेको थियो । तर, पूर्वराजा शाह आउने निश्चित भएसँगै राप्रपाले आमसभा स्थगित गरेर उनको स्वागत गर्न पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको थियो ।

‘त्यसक्रममा समान विचार धारणा भएका व्यक्ति, दललाई समन्वय गरेर विमानस्थलमा पुग्यौं’, श्रेष्ठ थप्छन्, ‘स्वागतमा विभिन्न स्वतन्त्र समूह, व्यक्ति र संघसंस्थाका शुभेच्छुकहरु पनि उपस्थिति हुनुहुन्थ्यो ।’ स्रोत : अनलाइन खबर बाट साभार

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *